दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा
नुवाकोट | मंसिर २३, २०८१
नुवाकोट: धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।
यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ ।
दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ ।
मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताउनुभयो ।
दुप्चेश्वर महादेवको महिमा
पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताउनुभयो ।
गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उहाँको भनाइ छ ।यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो ।
उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् ।
धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन् ।दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ ।
महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ ।
काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ ।
काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ ।
नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ । मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ ।
रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ ।मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

